पढाइसँगै उद्यमी बन्दै बोस्टन कलेजका विद्यार्थी

रोजा सुवेदी साथीको बिहेमा जाँदा उनलाई विवाहको सजावट सामग्रीहरू निकै महँगो लाग्यो । त्यसपछि तीनजना साथीहरूको सहकार्यमा टिम आर्सी बनाएर उनीहरूले विवाह, पार्टी, जन्मदिन र सरप्राइज पार्टीको डेकोरेसन गर्न थाले । ‘त्यतिवेला बिहेका लागि घर सजावटका निम्ति ६० हजार लाग्छ भनेपछि म आफैँले यो कामको जिम्मा लिएर साथीको बिहेको घर सजावट गरेँ,’ रोजाले भनिन्, ‘उक्त कामको सबैले प्रशंसा गरेपछि यो कामलाई निरन्तरता दिने सोच आयो र हामीले नयाँ व्यवसाय सुरु गर्‍यौँ ।’ 

तीन महिनाअघि करिब २० लाख रुपैयाँको लगानीमा गैँडाकोटमा जिम सेन्टर सञ्चालन गरेका चन्दन विश्वकर्माको पनि आफ्नै कथा छ । आफ्नो रुचिको कामलाई आर्थिक आम्दानीको स्रोतमा उनले जोड्न सके । अनलाइन व्यवसाय गर्ने तयारी गरेका विष्णु भट्टराई र सफाइ गर्ने केमिकल बजारमा ल्याउने तयारी गरेका नारायण पाण्डेको पनि नयाँ व्यवसायको आफ्नै मैलिकता थियो । शुक्रबार चितवनको बोस्टन इन्टरनेसनलको उद्यमी विकास कार्यक्रममा देखिएको यो दृश्य र संवादले नयाँ उद्यमीको जोस, कामप्रतिको लगाव र सम्बन्धित विषयमा गरेको गहन अध्ययन झल्कन्थ्यो । कलेजका विद्यार्थी कसरी अध्ययनसँगै उद्यमशीलतामा लागेका छन् भन्ने पनि यो कार्यक्रममा प्रस्टै देखिन्थ्यो । 

 बोस्टन इन्टरनेसनल कलेजमा अध्ययनरत विद्यार्थीले यो प्रस्तुति तयार गर्न ६ महिनादेखि तयारी गरिरहेका थिए । विभिन्न अनुभवी व्यवसायी, उद्योगी, विज्ञसँगको छलफलपछिको तयारीबाट उनीहरूले आफ्नो अनुभवलाई प्रस्तुतिका रूपमा राखेका हुन् । कार्यक्रममा सहभागी सबै बोस्टन कलेजका बिबिए अध्ययनरत विद्यार्थी हुन् । चन्दन विश्वकर्मा पहिलो सेमेस्टर, नारायण पाण्डे सातौँ सेमेस्टर, रोजा सुवेदी पहिलो सेमेस्टरका विद्यार्थी हुन् भने विष्णु भट्टराई बिबिए बिआई सातौँ सेमेस्टरमा अध्ययनरत छन् । रोजाको टिममा रहेकी अनिता तामाङ पाँचौँ र स्मृति विश्वकर्मा पहिलो सेमेस्टरमा बिबिए अध्ययनरत छिन् । 

उत्कृष्ट भए विश्वकर्मा 
चारजनामध्ये चन्दन विश्वकर्माको प्रस्तुति उत्कृष्ट भयो । उनी दुई लाख रुपैयाँसहित उद्यमी विकास कार्यक्रम–२ को विजेता बने । कलेजका अध्यक्ष आनन्दबहादुर चन्द र कार्यक्रमका प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका रजिस्ट्रार प्रा.डा. शारदा थपलियाले विजयीलाई प्रोत्साहनसहित चेक हस्तान्तरण गरे । 

अघिल्लो वर्ष सम्पन्न उद्यमी विकास कार्यक्रम १ को विजेता भरतपुरको सर्वोत्तम मसरुम फार्मको टिम भएको थियो । डाक्टर थपलियाले यस्ता खोज तथा अनुसन्धानका कार्यक्रममा आफ्नो विश्वविद्यालय पनि सहकार्य गर्न तयार रहेको बताए । 

News source: https://www.nayapatrikadaily.com/news-details/76484/2021-12-12



Leave a Reply